काठमाडौं। पेट्रोलियम पदार्थमा लगाइने करबाट प्रतिलिटर ५ रुपैयाँ बूढीगण्डकी जलाशय जलविद्युत आयोजनामा लगानीका लागि छुट्याइने भएको छ।
बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार विकास करबाट प्रतिलिटर ५ रुपैयाँ बूढीगण्डकी जलाशय जलविद्युत आयोजनामा लगानीका लागि छुट्याउने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्त रेखा शर्माले बूढीगण्डकी स्वदेशी लगानीमा नै निर्माण गर्ने प्रक्रिया अघि बढिसकेकाले लगानीका लागि करबापतको रकम छुट्याउने निर्णय भएको जानकारी दिइन्।
यसअघि नेपाल आयल निगमले आर्थिक वर्ष २०७३/७३ देखि बूढीगण्डकी आयोजना शिर्षकमा नै पेट्रोलियम करबापतको प्रतिलिटर ५ रुपैयाँ छुट्याउँदै आएको थियो । ३ वर्षसम्म बूढीगण्डकी आयोजना शिर्षकमा करको रकम जम्मा गरेपछि २०७६ साल फागुनदेखि बूढीगण्डकी आयोजना शिर्षकमा नभई पूर्वाधार विकास करको नाममा प्रतिलिटर १० रुपैयाँ लिँदै आएको थियो ।
मन्त्रीपरिषदको बिहीबारको निर्णयपछि अब पूर्वधार विकासका लागि लिइँदै आएको प्रतिलिटर १० रुपैयाँ मध्येबाट ५ रुपैयाँ स्वतः बूढीगण्डकी आयोजनाको नाममा जाने शर्माले बताइन् ।