काठमाडौँ। नेपालमा १० हजारभन्दा बढी झोलुङ्गे पुलहरु निर्माण सम्पन्न भएको उपलक्ष्यमा तस्बिर प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको छ। सहरी विकासमन्त्री सीता गुरुङले शुक्रबार उक्त प्रदर्शनीको उद्घाटन गरेकी हुन्।
स्थानीय पूर्वाधार विभाग र सहरी विकास मन्त्रालयको आयोजनामा ललितपुरको जावलाखेलमा २ दिने तस्बिर प्रदर्शनीमा राखिएको छ।यसै आर्थिक वर्ष नेपालका नदीनालाहरूमा झोलुङ्गे पुल निर्माणको संख्या १० हजार कटेको छ।
प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले झोलुङ्गे पुलहरुलाई पर्यटनसँग जोड्नुपर्ने बताएकी छन् । उनले विगतमा झोलुङ्गे पुलहरु केवल एक गाउँबाट अर्को गाउँ जानको निम्ति र खोला वारपार गर्ने प्रयोजनको निम्ति बनाइने गरेको उल्लेख गर्दै अब शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रको विकाससँग जोड्नुपर्ने बताइन् ।
मन्त्री गुरुङले झोलुङ्गे पुललाई खोलानालामा मात्रै केन्द्रित नगरी पर्यटनको सम्भावना भएका ठाउँहरुमा पनि निर्माण गर्नुपर्ने बताइन् । एक पहाडबाट अर्को पहाड जोड्ने झोलुङ्गे पुल निर्माण गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिइन् । यसको निम्ति मन्त्रालयले नीतिगत व्यवस्था गरिसकेको पनि उनले स्पष्ट पारिन् ।
मन्त्री गुरुङले झोलुङ्गे पुललाई नागरिकको जनताको आय–आर्जनसँग जोड्नुपर्ने पनि बताइन् ।