काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले थप ५०० वटा चार्जिङ स्टेसन बनाउने भएको छ। प्राधिकरणले देशका मुख्य राजमार्ग र सहरी क्षेत्रमा थप ५०० वटा चार्जिङ स्टेसन बनाउने भएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै पूर्वाधारको अभाव भएको गुनासो बढेका कारण चार्जिङ स्टेसन थप्ने योजना बनाएको बताए। उनका अनुसार विद्युतीय सवारीसाधन प्रवर्धन र बिजुलीको खपत बढाउन प्राधिकरणले चार्जिङ स्टेसनमा लगानी गर्न लागेको हो।
प्राधिकरणले पूर्वपश्चिम, हुलाकी, मदन भण्डारी र मध्यपहाडी राजमार्गका ठाउँ ठाउँमा चार्जिङ स्टेसन बनाउन लागेको छ। त्यस्तै देशैभरका मुख्य सहरी क्षेत्रमा समेत चार्जिङ स्टेसन बनाउने प्राधिकरणको योजना छ।
‘निजी क्षेत्र व्यापक रुपमा तत्कालै आउने जस्तो देखिँदैन। तर अहिले नै पूर्वाधारको अभाव हुन थालिसक्यो। चार्जिङ स्टेसन नथपे नेगेटिभ मेसेज जान्छ,’ उनले भने, ‘त्यही कारण प्राधिकरणले चार्जिङ स्टेसनमा व्यापक काम गर्दैछ।’ उनले काम छिट्टै सुरु गर्ने बताए।
प्राधिकरणले यसअघि ३५ करोड रुपैयाँ खर्च गरी ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेको थियो। ती चार्जिङ स्टेसन अहिले सञ्चालनमा छन्।