काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ लप्सीफेदी क्षेत्रमा निर्माणाधिन सबस्टेसन र प्रसारण लाइन निर्माणको सुरक्षार्थ प्रहरी पोष्ट राख्ने निर्णय गरिएको छ। जिल्ला सुरक्षा समिति, काठमाडौँको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत् सबस्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको हो।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पटकपटक वार्ता र संवाद गरिए पनि सहमति नभएपछि सरकारले प्रहरी पोष्ट राख्ने निर्णय गरेको छ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जा सचिव दिनेशकुमार घिमिरेलगायत मन्त्रालयका उच्च अधिकारीले पटकपटक जायज माग पूरा गर्ने र सबस्टेसन र प्रसारण लाइन निर्माणका लागि सहमति जनाउन आग्रह गरेका थिए । स्थानीयवासी र उनीहरूका प्रतिनिधिलाई वार्तामा सहभागी भए पनि कुनै पनि विषयमा सहमति जनाउन अटेर गरेको मन्त्रालयको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरणले शङ्खरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००–२२०–१३२–११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।