तस्विर : सिराज खान/गाेरखापत्र
नेपालगन्ज। प्रतिनिधिसभा सांसद दीपा शर्माले बाँकेमा निर्माणाधीन हुलाकी सडकको स्थलगत अनुगमन गरेकी छन्। सांसद शर्माले नेपालगन्जको पुष्पलाल चोकबाट पूर्व राप्ती पुल हुँदै फत्तेपुर कुण्डादेखि बैजापुरको नारायणपुरसम्म र पश्चिमतर्फ नन्दनी मिलदेखि मानखोलासम्म निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडकको स्थलगत अनुगमन गरेकी हुन्।
अनुगमन गर्दै सांसद शर्माले सडकको निर्माण कार्यको प्रगति र निर्माणमा कुनै समस्या भए सोको बारेमा सम्बन्धित सरोकारवालासँग जानकारी लिएकी छन् । हुलाकी सडकको स्थलगत अनुगमनपछि सांसद शर्माले सडक निर्माणका बारेमा देखिएका समस्या र चुनौतीहरु समाधानका लागि संसदलगायत सम्बन्धित मन्त्रालयमा पनि कुरा राखेर समाधान गर्न लगाउने बताइन्
नेपालगन्जबाट पूर्वतर्फको हुलाकी सडकको निर्माणमा भइरहेको ढिलाइका बारेमा विशेष चासो राखिएको र कारणबारे जानकारी माग गरिएको सांसद शर्माको भनाइ छ । सो अवसरमा सडकको अवस्थाबारे जानकारी गराउँदै हुलाकी सडक आयोजना नेपालगन्जका प्रमुख लिला भण्डारीले हुलाकी सडकमा पूर्व र पश्चिम दुबैतर्फ काम तीव्र गतिमा सञ्चालनमा रहे पनि निर्माण कम्पनीको माग बमोजिम भुक्तानीमा समस्या रहेको, मुआब्जाको समस्या र विद्युत पोलको चुनौती रहेको बताए।
भण्डारीले समस्या समाधान भएपछि सडक निर्माणमा धेरै समय नलाग्ने पनि बताए।