हुम्ला । हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ । राष्ट्रिय सडक सञ्जालसँग दक्षिणी हुम्ला जोडिनु र ग्यास व्यापारी बढेका कारण प्रतिस्पर्धात्मक बजार भएकाले मूल्य घटेको हो ।
मालिका महादेव सप्लायर्सका सञ्चालक खुम रावतले खाना पकाउने ग्यासको मूल्य घटेको बताए। उनले यसअघि नयाँ एउटा सिलिन्डर ग्राहकले किन्नु पर्दा छ हजार पाँच सय रुपियाँ पर्नेमा अहिले मूल्य घटेर पाँच हजार पाँच सयमा झरेको बताए ।
त्यसैगरी पुरानो सिलिन्डर साट्ने हो भने प्रतिसिलिन्डर ग्यास भरेपछि चार हजार पाँच सय रुपियाँ लाग्ने गरेको छ । यसअघि पुरानो सिलिन्डर भरेको मात्र पाँच हजार पाँच सय रुपियाँ लाग्ने गथ्र्यो । यो मूल्य सदरमुकाम सिमकोटमा हो । सिमकोटमा मात्र पाँच वटा ग्यास बिक्रेता रहेका छन् । उनले यसरी खाना पकाउने ग्यासको मूल्य एक्कासि घट्नुमा सडक सञ्जाल उत्तरी हुम्लातर्फ जोडिँदै आउनु र अर्कोतर्फ ग्यास बिक्रेता व्यापारीको सङ्ख्या बढ्दै जानु, प्रतिस्पर्धात्मक बजारका कारण रहेको बताए ।
राष्ट्रिय सडक सञ्जाल जोडिएको सर्केगाड गाउँपालिकाको सलीसल्लामा भने नयाँ सिलिन्डर तीन हजार पाँच सय रुपियाँ पर्छ भने पुरानो सिलिन्डर भरेको भने दुई हजार पाँच सय रुपियाँ मात्र पर्ने गर्छ । गाेरखापत्रबाट