काठमाडौँ। लप्सीफेदी सबस्टेसन निर्माणमा स्थानीयले पुनः अवरोध सिर्जना गरेका छन्। सरकारले आवश्यक सुरक्षा प्रबन्धका लागि निर्माणस्थलमा सुरक्षा पोस्ट स्थापना गर्ने क्रममा स्थानीयले आक्रमण गरेका हुन्।
जिल्ला सुरक्षा समिति, काठमाडौँको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत् सबस्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोस्ट राख्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा शुक्रबार बेस क्याम्प स्थापना गर्न जाँदा त्यस क्षेत्रका केही स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका छन् । त्यस क्रममा केही प्रहरी घाइते भए। प्रहरीले आक्रमणमा संलग्न १४ जनालाई नियन्त्रणमा लिएको छ ।
स्थानीयको अवरोधका कारण लामो समयदेखि निर्माण अवरुद्ध हुँदै आएको छ।