काठमाडौं। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको काम प्रदेश १ मा द्रुत गतिमा अगाडि बढेको छ। विशेष गरी तेह्रथुम क्षेत्रमा लोकमार्ग निर्माणको कामले गति लिएको हो।
तेह्रथुमका प्रमुख जिल्ला अधिकारीले जिल्लाको वसन्तपुर–म्याङ्लुङ खण्डमा भइरहेको लोकमार्ग निर्माणको काम चाँडो सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको बताएका छन्। उक्त सडक निर्माण भएपछि बहुआयामिक फाइदा हुने भएकाले गर्दा तोकिएको समयमै निर्माण सम्पन्न गर्न उनले निर्देशन दिएका हुन्। यसैगरी उनले सम्झौतामा उल्लेख भएको समयमै निर्माण सम्पन्न नगरे निर्माण कम्पनीलाई कारबाही गरिने चेतावनीसमेत दिएका छन्। साथै तोकिएकै समयमा गुणस्तरयुक्त रुपमा काम सम्पन्न गर्न र त्यसको प्रगति प्रतिवेदन महिनाको दुई पटक जिल्ला प्रशासनलाई बुझाउन निर्देशन पनि दिइएको छ।
म्याङ्लुङ नगरपालिकाका नगरप्रमुखले आयोजना निर्माणका क्रममा स्थानीय तहबाट गर्न सक्ने समस्या समाधान गर्न र माथिल्लो सरकारसँग समस्या समाधान गर्न आफूले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यो खण्डको काम समयमै नसकिँदा तेह्रथुमवासी वर्षायाममा हिलो र हिउँदमा धुलोको मारमा पर्ने गरेका छन्। मध्यपहाडी लोकमार्गका इन्जिनियरले म्याङ्लुङ–वसन्तपुर सडकखण्ड आगामी चैत मसान्तसम्ममा कालोपत्रे भइसक्ने जानकारी दिएका छन्।
उपयुक्त निर्माण सामग्रीको अभावका कारण जिल्लामा सडक निर्माणको काम ढिलाइ भएको रअब त्यो समस्या समाधान हुने उनले जानकारी दिएका छन्। जिल्लाका अन्य खण्डभन्दा आफूले यही खण्डलाई विशेष प्राथमिकता दिएको प्रमुख जिल्ला अधिकारीको भनाइ रहेको छ। उक्त सडकखण्डमा हाल तीनवटा निर्माण कम्पनीले काम गरिरहेका छन्। तीनवटै निर्माण कम्पनीले अवरोध नभएमा तोकिएकै समयमा सडक निर्माणको काम सम्पन्न गर्ने जानकारी दिएका छन्।
यसैगरी वसन्तपुर–म्याङ्लुङ खण्ड दुई लेनमा स्तरोन्नति गर्न र कालोपत्रे गर्न अर्थ मन्त्रालयले २ अर्ब ७ करोड रुपियाँ बजेट विनियोजन गरेको छ। यो सडकखण्डको पहिलो खण्ड १० किलोमिटर लम्बाई रहेको वसन्तपुर–लसुनेमा कालिका भभेश्वर जेबी कन्स्ट्रक्सनले कालोपत्रेको काम अगाडि बढाएको छ। यसैगरी लसुने–जिरिखिम्ती–बगाले खण्डको १० दशमलव ४ किलोमिटरमा आशिष आश्रय जेभी निर्माण सेवाले सडक विस्तार तथा बेस बिछ्याउने कामलाई तीव्रता दिएको छ। तर जिरिखिम्तीदेखि बगाले–म्याङ्लुङ खण्डको ५ किलोमिटर लामो सडकखण्डमा भने हालसम्म पनि ट्रयाक खोल्ने काम नै सकिएको छैन।