काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बाफीकोट–खुंग्री प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ । प्राधिकरणले ७५ किलोमिटर लामो बाफीकोट–खुंग्री प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको हो।
प्राधिकरणले कर्णाली प्रदेश अन्तर्गत पर्ने रुकुम (पश्चिम) जिल्लामा उक्त प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
प्राधिकरणका अनुसार जिल्लाको बाफिकोट गाउँपालिकाको भेंडाखेतमा प्रस्तावित उत्तरगंगा सबस्टेसनदेखि लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रोल्पा जिल्लाको माडी गाउँपालिका निर्माण हुने घर्तिगाउँ सबस्टेसन हुँदै सोही जिल्लाको सुनिलस्मृति गाउँपालिकामा प्रस्तावित खुंग्री सबस्टेसनसम्म १३२ केभी लाइन निर्माण गर्न लागेको छ। यो लाइन ७५ किलोमिटर लामो डबल सर्किटमा निर्माण हुनेछ ।
प्राधिकरणले लाइनको काम अघि बढाउन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत पाउने लगतै प्रसारण लाइन काम अघि बढाइनेछ । विभागले लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सूचना प्रकाशित भएको ३५ दिनभित्रमा लिखित रायरसुझाव बुझाउन आग्रह गरेको छ ।