काठमाडौं। रुकुमपश्चिमका भूकम्प प्रभावित स्थानको वडा–वडामा विभाजित भएर युवा सङ्घको टोली अस्थायी संरचना निर्माणमा लागेको छ। नेकपा (एमाले) को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको टोली भूकम्प प्रभावित स्थानको वडा–वडामा विभाजित भएर भूकम्पपछिको उद्धार र अस्थायी आवास निर्माणको काममा परिचालन भएको हो।
नवलपरासी जिल्लाबाट आएको टोली आठविसकोट नगरपालिका –१४ मा केन्द्रित भएको छ भने पाल्पाबाट आएको टोली वडा –१३ मा परिचालन भएको राष्ट्रिय युवा सङ्घका जिल्ला अध्यक्ष नवराज मल्लले जनाए।
त्यसैगरी वडा–११ मा कपिलवस्तुबाट आएको टोली खटिएको छ भने बाँकेको टोलीले वडा–९ मा काम सुरु गरेको छ । सो टोलीले बुधबार बाल कल्याण माध्यमिक विद्यालयमा स्वयम् सेवा गरेको थियो ।
सो टोलीले भत्किएका भवनको काठ, ढुङ्गा र जस्तापाता व्यवस्थापन गरेर अस्थायी आवास निर्माणमा लागेको छ । बर्दियाबाट पनि राष्ट्रिय युवा सङ्घको एक टोली भूकम्प प्रभावित क्षेत्रमा आउँदै गरेको बताइएको छ । प्युठानबाट आएको टोली सानीभेरी गाउँपालिकाको वडा नम्बर ११ मा परिचालन भएको छ ।
त्यसैगरी गण्डकी प्रदेशबाट आएको प्रदेश कमिटी अध्यक्ष पानबहादुर क्षेत्रीको नेतृत्वमा आएको टोली चौरजहारी नगरपालिका १० र ११ मा केन्द्रित भएको छ । सो टोलीले वडा १० मा ६ वटा अस्थायी आवास निर्माण गरेर भूकम्प प्रभावित परिवारलाई हस्तान्तरण समेत गरिसकेको छ । गोरखापत्रबाट