काठमाडौं। आर्थिक वर्ष ९आव० २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत नेपालबाट भारततर्फ निर्यात भएको छ।
नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ, असोज र कात्तिकमा १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ बराबरको विद्युत भारतमा निर्यात गरेको हो।
गत आव २०७९/८० को सोही अवधिको तुलनामा यो निर्यात ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरिएको थियो ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ आर्जन भएको छ ।
प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । चार महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रति युनिट ९ रुपैयाँ १८ पैसा छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट ७ रुपैयाँ ७६ पैसा थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत् निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिती र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए ।