काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सबै जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) खुलाउने सम्बन्धमा चाँडै निर्णय गर्ने बताएका छन्।
‘दिगो विकासका लागि जलविद्युत’ विषयक क्षेत्रीय सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सबै जलविद्युत आयोजनाको पिपिए खुलाउने सम्बन्धमा चाँडै निर्णय हुने बताएका हुन्।
उनले बाढी पहिरोको जोखिममा परेर निर्माण प्रभावित हुन पुगेका जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिकाको अवधि पछाडि सार्न निजी क्षेत्रबाट भइरहेको माग पनि सम्बोधन हुने गरी निर्णय गर्ने गरी मन्त्रालयले गृहकार्य गरिरहेको बताए । उनले प्राकृतिक स्रोतको समुचित प्रयोग र दिगो विकासका लागि सरकारले गरिरहेको प्रयासमा निजी क्षेत्रको पनि उत्तिकै साथ र सहयोग रहेको बताए ।
मन्त्री बस्नेतले दिगो विकासका लागि पनि ऊर्जा क्षेत्रको उत्तिकै महत्त्वपूर्ण योगदान रहने र नेपालले निर्धारण गरेको शून्य कार्बन उत्सर्जनको लक्ष्य पूरा गर्न नवीकरणीय ऊर्जामा लगानी बढाउनु पर्ने हुँदा सरकार विदेशी लगानीका लागि वातावरण तयार गर्न तयार रहेको बताए । सन् २०३५ सम्म थप २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी योजना रहेको बताउँदै उनले उत्पादनसँगै प्रसारण र वितरणको क्षेत्रमा पनि लगानी बढाउन आवश्यक रहेको बताए ।