काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मनाङमा निर्माण हुन ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाको प्रवर्द्धकसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरण र आयोजनाको प्रवर्द्धक लालुपाते हाइड्रो पावर कम्पनी लिमिटेडबीच गत मंगलबार पिपिएमा हस्ताक्षर भएको हो ।
पिपिएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा प्रवर्द्धक कम्पनीकोतर्फबाट अध्यक्ष मोहनकुमार डाँगीले हस्ताक्षर गरेका हुन् । पिपिए अनुसार प्रवर्द्धक कम्पनीले निर्माण गर्ने आयोजनाले उत्पादन गर्ने विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा प्राधिकरणले खरिद गर्नेछ ।
प्रवर्द्धक कम्पनीले विद्युत उत्पादन सुरु गरेपछिको ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले अहिले पिपिए भएको दरमा मूल्यवृद्धि पाउनेछ । २०८४ साल कात्तिक २ गतेदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका पिपिएमा राखिएको कम्पनीका अध्यक्ष डाँगीले बताए ।