काठमाडौं। बुटवल उपमहानगरपालिकाले चौराहा–गोलपार्क सडकको सर्भिस लेनको डिजाइन परिवर्तन गर्न सडक विभागलाई पत्राचार गर्ने भएको छ । बुटवल उपमहानगरपालिकामा आइतबार बसेको सरोकारवालासहितको बैठकले सडक विभागमा पत्रचार गर्ने निर्णय गरेको हो।
चौराहादेखि गोलपार्कसम्मको सडक डिजाइनमा स्थानीय व्यवसाय प्रवर्द्धन, पार्किङ, सडक व्यवसाय, हरियाली, खानेपानी र विद्युतीकरणसहितको सडक निर्माण गर्नुपर्ने आवश्यकता ठहर गरी उपमहानगरपालिकाले सडकको सर्भिस लेनको डिजाइन परिवर्तन गर्न सडक विभागलाई पत्राचार गर्न लागेको छ।
बैठकले बुटवलको व्यस्त बजार र बस्तीको क्षेत्रको सडकको सर्भिस लेनलाई हरियाली मात्र नगरी साना सवारी पार्किङ, साना व्यवसाय, हरियाली, व्यवस्थित खानेपानी र विद्युतीकरण गर्ने गरी निर्माण गर्न सडक विभागलाई आग्रह गर्ने निणर्य गरेको उपमहानगरपालिकाले जनाएको छ। चौराहादेखि गोलपार्कसम्मको सर्भिस लेनको निर्माण बाँकी रहेकाले निर्माण सुरु हुनुअघि नै डिजाइनमा हेरफेर गरी स्थानीय आवश्यकताअनुसारको बनाउनका लागि आग्रह गर्ने निणर्य गरेको समेत पालिकाले जनाएको छ।