काठमाडौं। २२० केभी कोसी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्मित वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबारदेखि लोड दिएर सञ्चालनमा ल्याएको हो ।
आयोजना अन्तर्गतनै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन् । सबस्टेसनहरु निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७५को असारमा २ करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भयो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले निर्माण गर्ने र गरिरहेका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको बताए ।
वसन्तपुर सबस्टेसनमा तुम्लिङ्टार र ताप्लेजुङको ढुङ्गेसाँघु सबस्टेसनबाट विद्युत् आउने छ । वसन्तपुरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ ।