काठमाडौं। काठमाडौं महानगरपालिकाले ३६ वटा विद्यालय क्षेत्रमा ‘अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ’ (पेलिकन) प्रणाली जडान गर्ने भएको छ। पैदल यात्री आफैंले बटन थिचेर बाटो काट्न मिल्ने यो प्रणाली पहिलो पटक बबरमहलमा राखिएसँगै अब महानगरका ३६ स्थानमा जडान गरिने भएको हो।
यो जेब्रा क्रसतिर हरियो र सवारी गुड्नेतर्फको सडकमा रातो बत्ती बालेर पैदल यात्रीले सडक पार गर्ने प्रणाली हो। यो प्रणालीलाई पहिलो पटक २०७९ फागुन १३ गते बागदरबारमा परीक्षण गरिएको थियो। यसबाट सकारात्मक प्रतिक्रिया आएपछि नमूना परीक्षण बबरमहलमा राखिएको हो।
बबरमहलमा राखिएको यस प्रणालीबाट प्राप्त प्रतिक्रियाका आधारमा महानगरपालिकाका ३६ वटा विद्यालय क्षेत्रमा प्रणाली विकास गर्ने योजना बनाएको हो।
बालिबालिकाहरुलाई सडक सुरक्षा प्रदान गर्न र भविष्यका सडक प्रयोगकर्ता (बालबालिका) लाई सडक सुरक्षाका विषयमा व्यवहारिक ज्ञान दिन सकियोस् भन्ने उद्येश्यले विद्यालय क्षेत्रलाई प्राथमिकता दिन लागेको समेत महानगरले जनाएको छ।
बबरमहलमा राखिएको प्रणाली जडान गर्न करिब ७ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ।