भोजपुर। भोजपुरको रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा विद्युत सेवा पुगेको छ । स्थानीय वडा कार्यालयको लगानीमा रामप्रसादराई–८ मा पर्ने खोक्सिक र बाउराङ गाउँमा विद्युत पुर्याइएको हो ।
दुर्गम गाउँमा विद्युत विस्तार भएपछि वर्षौंदेखि विद्युत उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयवासी बताउँछन् । यहाँका स्थानीयलाई अहिले विभिन्न विद्युतीय उपकारण जोडेर आफ्ना काम गर्न सक्ने वातावरण बनेको छ ।
भौगोलिकरूपमा विकट रहेका यी स्थानमा लामो समयको मेहनतपछि विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए । वडाको कुनै पनि ठाउँमा विद्युत् नपुगेको अवस्थामा वडा केन्द्रसम्म विद्युत् विस्तार गर्न सफल भएको उनको भनाइ छ ।
सीमित स्रोतसाधनको अधिकतम् उपयोग गर्दै जनतालाई दिएको बचन पूरा गरिरहेको वडाध्यक्ष राईको भनाइ छ ।