काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डका लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल सञ्चालनमा आएका छन्। बुधबारदेखि सञ्चालनमा आएका पुल भएर गाडी समेत गुड्न थालेका हुन्।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाका अनुसार यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डका १९ मध्ये पहिलो चरणमा पाँच पुल निर्माण भएका हुन । सेती दोभानको पुल यसअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ।
शुक्रबारसम्म टोपेखोला र चिसेन्जीको पुलसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको आयोजनाले जनाएको छ। निर्माणाधीन पुलमध्ये आठ वटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको समेत बताइएको छ।
दुई महिनाभित्र जुगेडी, सिमलताल, रिद्धी, भोर्ले, नाम्सी, टोपे, कालीखोला र खहरेमा निर्माण भइरहेका पुल सञ्चालनमा आउने छन् । खहरे दुई र तुइन खोलामा भने पुल निर्माण हुन समय लाग्ने भएको छ । खहरेको पुल निर्माणको ५० प्रतिशत काम सकिएको छ भने तुइन खोलामा निर्माणको काम अघि बढ्न सकेको छैन ।