झापा। झापाको कनकाई नगरपालिकामा विद्युत चुहावटमुक्त अभियान प्रभावकारी बन्दै गएको छ । नगरपालिकामा हाल विद्युत चुहावटको घटना शून्य रहेको नगरपालिकाले जनाएको हो।
वडास्तरबाट नै विद्युत् चोरी भएरनभएको अनुगमन गरिने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । अनुगमनको क्रममा विद्युत् चोरीको घटना नपाएको उनले बताए । पालिकामा विद्युत् चोरीको सम्भावनालाई अन्त्य गर्न सबै घरमा डिजिटल मिटरबक्स जडान गरिएको छ । मिटरबक्स खरिद गर्न नसक्ने स्थानीयलाई नगरपालिकाले निःशुल्क उपलब्ध गराएको छ ।
कनकाईलाई विसं २०७४ मा पूर्णरुपमा विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको थियो । कनकाईलाई विद्युत चुहावटमुक्त नगरपालिका बनाउन अभियान नै सञ्चालन गरिएको थियो। करिब डेढ वर्षको निरन्तर निगरानी सहित सो अभियान सञ्चालनपछि विद्युत चुहावटमुक्त नगरपालिका बनाउन सफल भएको छ।