काठमाडौं। गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर १ र ३ र चुमनुब्री गाउँपालिकाको वडा नम्बर ३ मा बुढी गण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। टाइम्स इनर्जी प्राइभेट लिमिटेडले साढे ५५ अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बुढी गण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो।
आयोजनाको निर्माण सम्पन्न गर्न ५५ अर्ब ५७ करोड ९० लाख रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ। यसका अधारमा आयोजनाको प्रतिमेगावाट लागत १६ करोड २९ लाख ८८ हजार रुपैयाँ लाग्ने देखिएको छ ।
आयोजनाको सबै काम पूरा गरे २०८५ चैतदेखि व्यवसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण पूरा भएपछि वार्षिक १८३७.१६ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सक्छ । उत्पादित ऊर्जालाई करिब ४५ किमि प्रसारण लाइन निर्माण गरेर रातमाटे सबस्टेसनमा जोडिनेछ ।