ललितपुर। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढेको बताएका छन् । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै निर्देशक घिसिङले एउटा रुख काट्न नसकेर एक वर्षसम्म राष्ट्रिय महत्वको अपर अरुण १ हजार ६१ मेगावाटको योजना अलपत्र परिरहेको बताए।
उनले सबैले नकारात्मक कुरा गर्दा सकारात्मक कुरा र काम गर्ने व्यक्ति कम हुँदै गएको बताए । उनले नेपालमा धेरै ठाउँमा समन्वयको अभाव रहेको बताए । उनले समन्वयको कमीका कारण ठुला योजनाहरू बेवारिसेको रूपमा परिणत हुनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ।
निर्देशक घिसिङले काठमाडौँ उपत्यकामा तार भूमिगत गर्ने कुरामा सडक विभागले अनुमति नदिँदा सबै काम ठप्प भएको समेत बताए । उनले अन्डरग्राउन्ड गर्ने ठुलो योजना सडक विभागले सात महिना भइसक्दा समेत अनुमति नदिएपछि काम गर्न नसकेको बताए। उनले सडक विभागले तार भूमिगत गर्न नदिँदा ठुला कन्ट्याक्टरहरु काम छोडेर भाग्ने अवस्थामा पुगेको उल्लेख गरे । उनले मेरो क्षेत्राधिकार भित्र दिन्न भन्ने मानसिकताबाट देश विकास हुन कठिन रहेको बताए ।