ललितपुर। ललितपुर महानगरपालिकाको कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेन्डर आह्वान गरिने भएको छ।
महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बिहीबार साँझ ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बोल्दै रात्रिकालीन दुर्घटना न्यूनीकरणका लागि कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेन्डर आह्वान गर्ने बताएका हुन्।
उनले कुसुन्ती क्षेत्रमा बत्ती नभएकै कारण अहिलेसम्म २४ जनाको निधन भइसकेको र धोबिघाट क्षेत्रमा ३४ जनाको ज्यान गइसकेकाले समेत जानकारी दिए।
उनले उज्यालो अभावकै कारण अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य गर्न महानगर लागिपरेको बताए । उनले महानगर क्षेत्रकै ७.९ किलोमिटर चक्रपथमा बत्ती बलिसकेपछि बत्ती नभएको कारणले दुर्घटना नहुने बताए । मेयर महर्जनले सडकमा स्मार्ट लाइटका लागि महानगरले यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको र १ करोड २० लाख विद्युत् प्राधिकरणको सहयोग हुँदा कुल ४ करोड २० करोड रुपैयाँ बत्तीका लागि छुट्टाइएको बताए । उनले दुई वर्षको काम सकिसकेपछि ललितपुर महानगरपालिका उज्यालो हुने बताए ।