मकवानपुर। जिल्लाको राक्सिराङ गाउँपालिकामा उज्यालो अभियान सुरु गरिएको छ । अहिले गाउँपालिकाको सबै वडामा विद्युत् सेवा पुर्याउने गरी अभियान नै सुरु गरेको हो।
राक्सिराङको खैराङ, काँकडा, दाम्राङलगायतका क्षेत्रमा विद्युत् सेवा पुग्न बाँकी छ । खैराङ, काँकडालगायत विद्युत् नपुगेको स्थानमा अहिले दैनिक करिब दुई सय मजदुरले पोल गाड्ने, तार तान्नेलगायतका काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।
विद्युत् विस्तार गर्ने क्रममा वडा नं ९ को खैराङ र ७ को धिराङ, दाम्राङलगायतका क्षेत्रमा यसै आर्थिक वर्षभित्र बत्ती बाल्ने गरी धमाधम काम भइरहेको छ। ३१ करोड रुपैयाँको बजेटमा नरेन्द्र इलेक्ट्रोनिक कम्पनी काठमाडौँले काम गरिरहेको र विद्युत्को कामका लागि स्थानीयस्तरबाट समेत सहयोग भइरहेको पालिकाले जनाएको छ।