काठमाडौं। बझाङ जिल्लाको सुनीगाड खोलामा अघि बढेको १४ मेगावाटको माथिल्लो सुनीगाड जलविद्युत् आयोजनाको काम ५ वर्षमा सम्पन्न हुने भएको छ। ओमेगा इनर्जी डेभलपर प्राइभेट लिमिटेडले आयोजनाको निर्माण २०८५ बैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखेको हो ।
जिल्लाको सुर्मा गाउँपालिका र तलकोट गाउँपालिका भएर बग्ने सुनी खोलाको पानी प्रयोग गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजनाको काम अघि बढाउने पनि कम्पनीले जानकारी दिएको छ ।
विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्नसक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय।सुझाव माग गरेको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सूझाव दिन माग गरेको हो ।