झापा। पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्नका लागि सडक क्षेत्रका रुख काटिने भएको छ। झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गर्न टाँचा लगाउने काम थालिएको हो।
जिल्लास्थित जिवन डिभिजन कार्यालयअन्तर्गतका मेचीनगर, कनकाई र दमक सबडिभिजन कार्यालयले सडकका रुखमा टाँचा लगाउने काम थालेका छन् । सबडिभिजन कार्यालयले तीन खण्ड छुट्याएर आफ्नो क्षेत्रभित्रको राजमार्गमा रुखमा टाँचा लगाउन सुरु गरेका हुन् ।
एसियाली विकास बैंक (एडिबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइइबी)को लगानीमा निर्माण हुन लागेको चार लेनको एसियाली राजमार्गका लागि रुख कटान गर्न गणना, नम्बरिङ र मूल्याङ्कनको काम सुरु गरिएको वन कार्यालयले जनाएको छ। वन विभागबाट प्राप्त भएको पत्रका आधारमा कार्यालय मातहतका सबडिभिजनका कर्मचारीलाई परिचालन गरेर काम गरिरहेको बताइएको छ।
मेचीनगर सबडिभिजन कार्यालयले काँकरभिट्टादेखि चारआलीसम्म, कनकाई कार्यालयले विर्तामोडदेखि कनकाइसम्म र दमक कार्यालयले शिवसताक्षीदेखि दमक नगरपालिकासम्मका रुखमा नम्बरिङ र मूल्याङ्कनको काम गर्ने छ।