तनहुँ। डुम्रे–बेँसीसहर–चामे सडकको स्तरोन्नतिको काम ७० प्रतिशत पुरा भएको छ। दुई लेनको यस सडक योजनाको ७० प्रतिशत सडक कालोपत्र सम्पन्न भएको हो।
यस सडकको प्रवेश नाकाका रुपमा रहेको तनहुँको भानु नगरपालिका क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।
भानु–३, खहरे तथा चाम्बास क्षेत्रमा कालोपत्र गरिसकिएको छ । भानु–१ भन्सार तथा नगरपालिकाको कार्यालय क्षेत्रमा कालोपत्रका लागि सम्याउने र पुरानो कालोपत्र हटाउने काम भइरहेको छ । असार मसान्तसम्ममा कालोपत्र सकिने गरी काम भइरहेको आयोजनाले जनाएको छ।
खहरेका केही स्थानमा साना पुल र घुम्ती क्षेत्रमा ‘लेबल’ मिलाउने कार्य भइरहेको छ ।
यस सडक खण्डको डुम्रेदेखि चाम्बाससम्म आठ किलोमिटर सडक कालोपत्र गरिने छ । कूल आठ किलोमिटरमध्ये साढे चार किलोमिटर एकपत्र कालोपत्र सकिएको र दुई किलोमिटर दुईपत्र कालोपत्र गरिसकिएको छ । अन्य क्षेत्रमा नाला निर्माण र पर्खाल निर्माणको काम भइरहेको छ ।