काठमाडौं। संयुक्त ऊर्जा लिमिटेडले म्याग्दीमा निर्माण गरिरहेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा निर्माणाधीन आयोजनाको २७०० मिटर लामो सुरुङ खन्ने काम सकिएको हो ।
अब सरसफाई गरी सुरुङ ढलानको काम सुरु हुनेछ ।
सुरुङ खन्न सुरु गरेको २० महिनामा पूरा भएको हो। आउटलेटबाट २०७८ मंसिरदेखि खन्न थालिएको थियो भन इनलेटबाट २०७९ जेठबाट खन्न सुरु गरिएको थियो ।
यसैगरी आयोजनामा ६०० मिटर पेनस्टक पाइप पनि निर्माण भइरहेको छ । यसमा १०० मिटर भर्टिकल साफ्ट र ५०० मिटर होराइजेन्टल साफ्ट रहनेछ ।
अहिले आयोजनाको सबै क्षेत्रको काम भइरहेको छ । आयोजनाको ७० प्रतिशत भन्दा निर्माण पूरा भएको छ ।
आयोजनाको सबै काम आगामी ८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । आयोजना पूरा भएपनि उत्पादन हुने विद्युत् २३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तिप्ले राहुघाट सबस्टेसनमा जोडिनेछ ।