किमाथाङ्का। सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको अप्पर अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि २ हजारभन्दा बढी रुख कटान गरिने भएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रुख काट्न अनुमति दिइएको हो ।
पहुँचमार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन तथा भोटखोला–२ मा पारिपाखा र माक्पालुङ सामुदायिक वन क्षेत्रले ओगटेको करिब २१ दशमलव शून्य आठ हेक्टर क्षेत्रफलका दुई हजार एक सय ६८ रुख काट्न अनुमति दिइएको डिभिजन वन कार्यालयले जनाएको छ।
प्राधिकरणले दुई दशमलव ०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतीय गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ ।