गण्डकी। पछिल्लो आर्थिक सर्वेक्षणले गण्डकी प्रदेशका दुई हजार आठ सय ८४ घरधुरी मात्र बिजुलीको पहुँचबाहिर रहेको देखाएको थियो । तीमध्ये बागलुङको ढोरपाटन नगरपालिका–६ छेन्तुङका तीन सय ९१ घरमा गत असोजमा सौर्य ऊर्जा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । उक्त तथ्याङ्कलाई आधार मान्दा अब गण्डकी प्रदेशका दुई हजार चार सय ९३ घरधुरीमा मात्र बिजुली नपुगेको देखिन्छ ।
बिजुली नपुगेका घरधुरी पहिचान गरी प्रदेशको शतप्रतिशत जनसङ्ख्यामा विद्युत् सेवा पुर्याउने योजनामा मन्त्रालय छ । बिजुलीको पहुँचबाहिर रहेका शून्य दशमलव पाँच प्रतिशत घरको खोजी तथा पहिचान गरी जतिसक्दो चाँडो विद्युत् सेवा पुरयाउने बताइएको छ।
अहिलेसम्म बिजुली नै नपुगेका घरधुरी पहिचान गर्न नेपाल विद्युत् प्राधिकरण र स्थानीय तहसँग मन्त्रालयले समन्वय गरिरहेको छ। तनहुँ र नवलपुरका केही ठाउँमा विद्युत् सेवा पुग्न बाँकी रहेको हो।
प्रदेशभित्रका ९९ दशमलव ५० प्रतिशत घरमा विद्युत् सेवा पुगिसकेको र बाँकी घरधुरीमा यथाशक्य छिटो बिजुली पुर्याएर ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने प्रदेश सरकारको तयारी छ ।