कञ्चनपुर। पूर्व–पश्चिम राजमार्ग चौडा गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका क्षेत्रका बिजुलीका खम्बा व्यवस्थापन नगर्दा दुर्घटनाको उच्च जोखिम बढेको छ । राजमार्गको झलारी बजार क्षेत्रमै राखिएको दुई सय केभिएको ट्रान्सफर्मर जमिनभन्दा दुई फिट मात्रै माथि रहेको छ । ट्रान्सफर्मरका तारमा यात्रु, घरपालुवा जनावर वा सवारी साधनले छोए करेन्ट लागेर दुर्घटना हुने सम्भावना छ ।
राजमार्ग चौडा गर्ने क्रममा माटो भर्दा खम्बमा राखिएको ट्रान्सफर्मर जमिनमै छुने अवस्थामा पुग्दा पनि सम्बन्धित निकायले सुरक्षाका लागि चासो नदेखाएको स्थानीयले बताए। ट्रान्सफर्मरका नाङ्गो तारमा छोएमा जुनसुकै बेला पनि घटना हुनसक्ने उनिहरुको भनाइ छ।
सडक क्षेत्रमा गाडिएका खम्बा व्यवस्थापन नगरे करेन्ट लागेर हुने दुर्घटना एकातर्फ छ भने अर्कोतर्फ पोलमा सवारी साधन ठोक्किएर हुने दुर्घटनाको जोखिमसमेत उत्तिकै रहेको बताइएको छ।