सिन्धुली। राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम पहिरोका कारण रोकिएको छ । सुरुङ भित्र पहिरो गई टीवीएम मेसिन थिचेपछि १४ दिनदेखि सुरुङ निर्माणको काम रोकिएको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लम्बाइको सुरुङ खन्ने क्रममा चुरे र महाभारत क्षेत्र कटेर करिब सुनकोशी क्षेत्रमा प्रवेश गरेपछि मङ्सिर १३ गते सुरुङभित्र पहिरोले टीवीएम मेसिन थिचेपछि काम रोकिएको हो ।
‘‘सुरुङको दायाँबायाँ र माथिबाट चट्टान तथा पाउडर जस्तो ‘फिलाइट’ माटो झरेर टीवीएम मेसिन थिचेको छ,’’ उनले भने, ‘‘पहिरोका कारण यो चौथो पटक टीवीएम मेसिन रोकिएको हो । यसअघि पहिलो पटक सात दिन, दोस्रो पटक नौ दिन र तेस्रो पटक २९ दिन टीवीएम मेसिन पहिरो, हिलो लेदो तथा धूलो पाउडर खसेर टनेल निर्माणको काम रोकिएको थियो ।’’
कमलामाई नगरपालिका–२ कुसुमटारबाट २०७९ साल असोज २८ गतेदेखि खन्न सुरु गरिएको उक्त सुरुङ हालसम्म १० दशमलव ५४७ किलोमिटर टीवीएम मेसिनले खनी सकेको उनले जानकारी दिए । यसअघि अवरुद्ध टीवीएम मेसिन सञ्चालन गर्न १० मिटर चौडाइ र आठ मिटर हाइटको बाइपास बनाएर काम सुचारु गरेको उनको भनाइ छ ।
आयोजनाका अनुसार २२ महिना सुरुङ निर्माणको काम सक्ने गरी उक्त कम्पनीले ठेक्का पाएको हो । उक्त मेसिनद्वारा दैनिक २५ मिटर देखि ३८ मिटरसम्म टनेल खन्ने गरिएको थियो । पाँच दशमलव पाँच डायमिटरको सुरुङमार्ग निर्माण गरिएको छ । गोरखापत्रबाट