काठमाडौं। नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन थप आठ वटा पुल आगामी दुई महिनाभित्र सञ्चालनमा आउने भएका छन्। काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउने गरी काम भइरहेको हो।
हाल ती पुलको पहुँचमार्ग बनाउने र रङगरोगन लगायतका काम भइरहेको छ ।
थप आठ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये दुईवटा मात्र बन्न बाँकी रहन्छन् । खहरेको पुल ६ महिनाभित्रमा सञ्चालनमा आउने छ । तुइन खोलाको पुल निर्माणका लागि भने भित्तो विस्फोट गर्नुपर्ने भएकाले थप समय लाग्ने आयोजनाले जनाएको छ।
गएको हिउँदमा सडक रोकेर दुईवटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको हो । आचार्यका अनुसार तुइन खोलाको पुल बनाउनका लागि ढिस्को पूरै भत्काउन नसकिएपछि विस्फोट गर्न लागिएको हो । पुलको मुग्लिन तर्फको झण्डै ६० मिटर अग्लो पहाडमध्ये २५ मिटर भत्काइएको छ । बाँकी ३५ मिटरलाई विस्फोट गर्न लागिएको छ ।
यो खण्डमा पर्ने १९ पुलमध्ये चार पुल सन् २०२० मा निर्माण गरिएको थियो । बाँकी १५ पुलसँगै निर्माण थालिएको हो । वि.सं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । पछिल्लो पटक थप गरिएको म्याद अगामी पुस १० गते सकिँदै छ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो ।