तनहुँ। पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गमा कालोपत्र गर्न लागिएको छ। सदरमुकाम दमौलीदेखि घुमाउने जोड्ने बुद्धसिंह मार्गको व्यास नगरपालिका–१३ सोढेंँसम्म दश किलोमिटर खण्ड आक्सफाल्ट प्रविधिबाट कालोपत्र गर्न लागिएको हो।
सडक कालोपत्र गर्नुअघि यहाँ नाला निर्माणको काम थालिएको छ । कूल ३२ किलोमिटर दूरीमध्ये चालु आर्थिक वर्षमा दश किलोमिटर कालोपत्रका लागि बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक कालोपत्रका लागि भ्याटसहित रु ३४ करोड २७ लाख ४५ हजार पाँच सय ६१ मा मैनाचुलीरसफल जेभी काठमाडौँले ठेक्का सम्झौता गरी काम सुरु गरेको छ ।
वि.सं २०७९ भदौ २७ गते सम्झौता गरी वि.सं २०८२ जेठ ३० गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । सम्झौता बमोजिम आक्सफाल्ट प्रविधिको कालोपत्र, पक्की नाला, कटिङ र कल्भर्ट निर्माण गरिनेछ । आगामी असार मसान्तसम्म पक्की नाला निर्माण सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ।
गण्डकी प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ । दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिंह मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न लागिएको छ । पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे आँबुखैरेनी हुँदै घुमाउने पुग्न भन्दा बुद्धसिंह मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्दछ ।