काठमाडौं। म्याग्दीको पश्चिम क्षेत्रमा विद्युतीकरण गर्नका लागि निर्माण गरिएको रातोढुङ्गा सबस्टेसनको काम पूरा भएको छ। नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत निर्माण गरिएको सबस्टेसन र लाइनको परीक्षण सुरु भएको हो ।
पर्वतको जलजला गाउँपालिकाको वडा नम्बर ४ मोहनचोक सबस्टेसनबाट म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ मा रहेको रातोढुङ्गासम्म लाइन निर्माण गरिएको छ । साथै, ३३/११ केभीको रातोढुङ्गा सबस्टेसन निर्माण भएको भएको छ ।
लाइन र सबस्टेसनको निर्माण पूरा गरी गत बिहीबार देखि चार्ज गरिएको निर्माण कम्पनीले जनाएको छ। प्रसारण लाइनको पोल गाड्ने, तार तान्ने, सबस्टेसनमा संरचना निर्माण र उपकरण जडानको काम सकिएर परीक्षण सुरु गरिएको हो।
प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरिरहेका छन् । परीक्षण पूरा गरेर एक सातापछि सञ्चालन गर्ने योजना रहेको बताइएको छ।