चितवन। चितवनको भरतपुर महानगरपालिकामा भूमिगत विद्युतीकरणको काम आधा भन्दाबढी सम्पन्न भएको छ। भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरणको काम ६० प्रतिशत सम्पन्न भएको हो।
सडक छेउमा उपकरण राख्नका लागि फाउण्डेसनको काम ४० प्रतिशत र तार बिच्छ्याउने काम २५ प्रतिशत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ।
भारतको टाटा प्रोजेक्ट लिमिटेडले विद्युतीकरणको काम गरिरहेको छ। यो कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गरिरहेको छ । अमेरिकी डलरमा टेण्डर भएकाले रकम सामान्य तलमाथि हुने भए पनि ठेक्का रकम २ अर्ब ५० करोड रूपैयाँ हाराहारी छ।
भरतपुर बाइपास सडकको पूरै र छ लेनको पुलचोकदेखि केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिने छ।