काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग कालोपत्र गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध पुर्याएको बताएका छन् ।
राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको आइतबारको बैठकमा मन्त्री ज्वालाले एसएसबीले कञ्चनपुर, बेलौरी पचुई क्षेत्रमा बाधा पुर्याइरहेको जानकारी दिएका हुन् ।
मन्त्री ज्वालाले भने, ‘बेलौरीको पचुईस्थित नेपाल भारत सीमास्तम्भ रहेको स्थान नेपाली भूभागमा सडक कालोपत्र गर्न समेत भारतीय सुरक्षा बलको अवरोध कायम रहेको पाइएको छ ।’ हुलाकी राजमार्गले नेपालको तराई क्षेत्रस्थित पूर्व–पश्चिमका २१ जिल्लालाई छुने गरी निर्माण भइरहेको छ ।
समितिले केही दिनअघि त्यस क्षेत्रको स्थलगत अवलोकन गरी त्यहाँको समस्या समाधानका लागि नेपाल सरकारबाट भइरहेको प्रयासबारे जानकारी लिन भौतिक पूर्वाधारमन्त्रीलाई बैठकमा आमन्त्रण गरेको हो । मन्त्री ज्वालाले भने, ‘यस विषयमा सहजीकरणका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिरहेका छौँ । समस्या समाधान भएसँगै बाँकी खण्डको निर्माण सहज हुन्छ । यस सम्बन्धमा समितिका तर्फबाट पनि सरकार र सरोकारवाला निकायमा ध्यानाकर्षण, पहल र प्रयत्नका लागि अनुरोध गर्नेछु ।’