काठमाडौं। तल्लो इन्द्रावती जलविद्युत् आयोजनामा ज्योति विकास बैंकले ऋण लगानी गर्ने भएको छ । ४.५ मेगावाटको आयोजनामा ज्योति विकास बैंकले लगानी गर्न लागेको हो ।
आयोजनामा बैंकको नेतृत्वमा ५० प्रतिशत ऋण लगानी हुने गरी सम्झौता गरिएको कम्पनीले जनाएको छ । आयोजनामा ५० प्रतिशत ऋण लगानी र ५० प्रतिशत स्वपुँजी लगानी हुने छ । आयोजना सम्पन्न गर्न १ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
यो आयोजना यसअघि करिब ४० प्रतिशत निर्माण सम्पन्न भइसकेपछि अनुमतिपत्र खारेज गरेर सरकारको बास्केटमा राखिएको थियो । आयोजना निर्माण गरी सञ्चालन हुने अवधिभरका लागि ६२ करोड रुपैयाँ तिर्ने गरी २०७८ असारमा नै अनुमतिपत्र पुरानै कम्पनीलाई दिने आशयपत्र जारी गरेको थियो ।
आशयपत्र जारी भएपछि कुनै कम्पनी दाबी विरोध गर्न नआएपछि नेशनल हाइड्रोले अनुमतिपत्रका लागि विभागमा आवेदन दिएको थियो । विभागले आवेदन दिएपछिको प्रक्रिया पूरा गरेर कम्पनीको नाममा आयोजनाको अनुमतिपत्र जारी गरी निर्माण गर्न बाटो खोलिदिएको थियो । कम्पनीले अध्ययन पूरा गरेर पनि विभागबाट २०८० बैशाख २० गते उत्पादन अनुमति पाएको छ ।