तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले तनहुँ जलविद्युत आयोजनाको निरीक्षण गरेका छन्। उपसभापति वाग्लेले ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको आइतबार निरीक्षण गरेका हुन्।
निरीक्षणपश्चात् उनले तनहुँ जलविद्युत् आयोजना कुलेखानीपछि बनेको पहिलो जलाशययुक्त आयोजना भएकाले यसको निर्माण पश्चात विद्यमान ऊर्जा सङ्कट केही हदसम्म समाधान हुने बताए ।
उनले कुलेखानी जलविद्युत् आयोजना बनेको ४० वर्षपछि मात्र पहिलो जलाशययुक्त जलविद्युत् आयोजना बनेको भन्दै यस आयोजना ऊर्जा सुरक्षाको दृष्टिकोणबाट पनि महत्त्वपूर्ण हुने बताए। आयोजना निर्माणका क्रममा स्थानीय जनसरोकारवाललाई विश्वासमा लिएर काम गर्नुपर्ने उनको भनाइ छ ।
वाग्लेले भने, “वर्षामा धेरै पानी पर्ने हुँदा त्यसबेला धेरै विद्युत् उत्पादन हुने तर हिउँदमा पानी सुक्दै जाने र विद्युत् उत्पादन पनि घट्दे जाने हुँदा सरकारले धेरै भन्दा धेरै जलाशययुक्त आयोजना बनाउनुपर्छ ।” बूढीगण्डकी र नलसिंङगाड विद्युत् आयोजना जलाशययुक्त भएकाले त्यसको पनि चाँडै निर्माण गर्नुपर्नेमा उनले जोड दिए।