काठमाडौं। त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको चिनियाँ कम्पनीसँगको ठेक्का तोडेको छ। चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपले सम्झौता अनुसार निर्माणको काम सम्पन्न नगरेपछि कम्पनीले नुवाकोटको त्रिशूली नदीमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको ठेक्का तोडेको हो।
पटक–पटक म्याद थप गरेर आयोजना सम्पन्न गर्न निर्देशन दिँदा पनि काम गर्न अटेर गरेका कारण ठेक्का सम्झौता तोडिएको कम्पनीले जनाएको छ। कम्पनीले गत डिसेम्बर १ मा १४ दिने सूचना चिनियाँ कम्पनीलाई दिइएकोमा १६ डिसेम्बरबाट लागु हुने गरी ठेक्का सम्झौता तोडिएको छ ।
चिनियाँ कम्पनीसँग ठेक्का तोडेर बैंक ग्यारेन्टी र पर्फर्मेन्स ग्यारेन्टी समेत जफत गरेको कम्पनीले जनाएको छ।
कम्पनी र चिनियाँ ठेकेदार कम्पनीबीच आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग २९ माघ २०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर अर्थात १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
अहिलेसम्म आयोजनाको करिब ६६ प्रतिशत निर्माण सम्पन्न भएको छ । आयोजनाको बाँकी ३५ प्रतिशत काम सम्पन्न गर्न पटक–पटक ताकेता गरिएपनि पछिल्लो ४ महिनादेखि निर्माण कम्पनीले काम ठप्प पारेर बसेको र पटक पटकको ताकेता समेत वेवास्ता गरेकाले ठेक्का तोडिएको कम्पनीले जनाएको छ।
पुरानो ठेक्का सम्झौता रद्ध भएपछि अब २०८२ साल चैतभित्र आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य निर्धारण गरी माघ दोस्रो साताभित्र नयाँ ठेक्का आह्वान गर्ने कम्पनीले तयारी थालेको छ ।