काठमाडौं। रामेछाप र दोलखाको सिमा भइ बग्ने खिम्ती खोलामा निर्माण भइरहेको ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । पिपुल्स इनर्जी लिमिटेडले २०७८ साल साउनबाट निर्माण सुरु गरेको आयोजनाको काम ७५ प्रतिशत पूरा भएको हो।
आयोजनाको बाँधस्थल, सुरुङमार्ग, विद्युत्गृह लगायत सबै क्षेत्रको काम भइरहेको आयोजनाले जनाएको छ। आयोजनाको विद्युत्गृह संरचना निर्माणको काम द्रुत गतिमा भइरहेको छ ।
‘यही गतिमा निर्माण भएमा र केही समस्या नआएमा डेढ वर्षभित्र सबै काम पूरा हुने कम्पनीले जनाएको छ । छुट्फुटको बाँकी काम र आन्तरिक परीक्षण पूरा गरी अबको २० महिनाभित्र आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणाली मै जोडिने बताइएको छ।
आयोजना पूरा भएपछि वार्षिक २६ करोड युनिट विद्युत् उत्पादन हुनेछ । सुख्खायाममा साढे ४ करोड युनिट र वर्षायाममा साढे २१ करोड युनिट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादित विद्युत १३२ केभी प्रसारण लाइन मार्फत ४ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको न्यु—खिम्ती सबस्टेसनमा जोडिनेछ ।