काठमाडौं। पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चनौटा सडक विस्तारका लागि केही दिनमा टेन्डर खुल्ने भएको छ। पहिलो खण्ड बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटरसम्को डिजाइन सम्पन्न भएर ठेक्का आह्वान प्रक्रिया अगाडि बढेको हो।
विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार अबको केही दिनमा टेन्डर प्रक्रियामा जाने तयारी गरिएको छ।
यो खण्डको डिजाइन तयार भइसकेको छ। एसियाली विकास बैंक(एडीबी)को सहयोगमा बनेको सो डिजाइन स्वीकृत समेत भइसकेको छ। डिजाइन विश्व बैंकले समेत ‘नो अब्जेक्सन’ भनेर उत्तर पठाइसकेको आयोजनाले जनाएको छ।
आयोजनाले पहिलो खण्डलाई पनि दुई खण्डमा विभाजन गरी ठेक्का प्रक्रिया अगाडि बढाउने बताइएको छ। यो सडकको पहिलो खण्ड बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटरको दुरीमा छ। यसलाई दुई खण्डमा गरी ठेक्का आह्वान गरिने छ।
यो पहिलो खण्डको सडक विस्तारमा लगभग ३० वटा सानाठूला पुलहरु पनि निर्माण हुने छ। यस्तै विभिन्न स्थानहरुमा १५५ वटा कल्भर्टहरु र ६ वटा अन्डरपास र ओभरपासहरु पनि निर्माण हुनेछन्। यस्तै ठेक्का लगाएको ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता प्रक्रिया अगाडि बढ्ने बताइएको छ।