काठमाडौं। भेरी बबई आयोजनाकाको निर्माणमा भएको ढिलाइ बारेमा आयोयजनाका अधिकारी र निर्माण व्यवसायीबीच आरोपप्रत्यारोप चलेको छ।
ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले आयोजनाबारे सम्बद्ध कर्मचारी र निर्माण व्यवसायीसँग मंगलबार मन्त्रालयमा भएको छलफलका क्रममै आरोपप्रत्यारोप चलेको हो।
छलफलमा निर्माण व्यवसायी रमण कन्स्ट्रक्सनका प्रमुख रमणकुमार महतोले आयोजनाका कर्मचारीका कारण काम गर्न नसकेको बताए। उनले समयमा भुक्तानी नगर्नेदेखि अन्य अत्यावश्यक काम नगरिदिएको आरोप कर्मचारीमाथि लगाए।
आयोजना निर्देशक रणबहादुर बमलगायतका अधिकारीहरुले निर्माण कम्पनीले आवश्यक जनशक्ति परिचालन नगरेको तथा उपकरण एवम् निर्माण सामग्रीको प्रबन्ध नगरेको आरोप लगाए।
मन्त्री बस्नेतले दुवै पक्षलाई आरोपप्रत्यारोमा उत्रिने भन्दा आआफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए। उनले अब हरेक १५ दिनमा सिँचाई विभाग र हरेक महिना मन्त्रालयका तर्फबाट आयोजनाको निरीक्षण गर्ने बताए।
कार्यप्रगति प्रभावकारी नभएको पाइएपछि मन्त्री बस्नेतले आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई मन्त्रालयमै बोलाएका हुन्।