काठमाडौं। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको आज उद्घाटन हुँदैछ। इनरुवा सबस्टेसनको आज बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्घाटन गरिने भएको हो।
विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सबस्टेसनको उदघाटनका लागि प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ इनरुवा पुगिसकेका छन्।
ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित यो सबस्टेसन धनुषाको ढल्केबरपछिको देशकै दोस्रो ठूलो विद्युत् सबस्टेसन हो।
यो सबस्टेशनबाट मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सहयोग पुग्ने प्राधिकरणले जनाएको छ।