काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ९८ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको बताएका छन्। शुक्रबार सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अहिले करिब ९८ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको बताएका हुन्।
उनले आगामी एक देखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको समेत बताए। उनले भने, ‘अहिले करिब ९८ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ । आगामी एक देखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको छ । यो सुनौलो दिन अब छिट्टै आउँदैछ । अहिले पूर्व–पश्चिम, उत्तर–दक्षिण जोड्ने ठूला क्षमताका प्रसारण लाइन निर्माण भइरहेका छन् । यसैगरी, उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्तिका लागि वितरण प्रणाली विस्तार तथा सुदृढीकरण कार्य देशभर अभियानकै रुपमा चलाइएको छ । यसमा अर्बौं रुपियाँ लगानी गरिएको छ ।’
प्रधानमन्त्री प्रचण्डले देशभित्र उत्पादित विद्युत् यही खपत गर्नका लागि सरकारले केही दिन अघिमात्र विद्युत् खपत वृद्धिसम्बन्धी कार्यायोजना मन्त्रिपरिषदबाट पारित गरेको समेत जानकारी दिए। उनले भने, ‘देशभित्र उत्पादित विद्युत् यही खपत गर्नका लागि सरकारले केही दिन अघिमात्र विद्युत् खपत वृद्धिसम्बन्धी कार्यायोजना मन्त्रिपरिषदबाट पारित गरेको छ । यसले विद्युत् खपत बढाउनका लागि ठूलो दिशानिर्देश गर्नेछ । अब नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पुर्याउने मात्र होइन, उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको छ । वस वर्षको वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् भारततर्फ निर्यात गरी १५ अर्ब रुपियाँभन्दा बढी आम्दानी हुनु खुसीको कुरा हो ।’