काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा पुल निर्माणको काम सुरु गरिएको छ। बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले बिहीबार खानीखोला गाउँपालिकामा पुल निर्माणका लागि शिलान्यास गरेका हुन्।
खानीखोला गाउँपालिकाको केन्द्रसम्म सहज रूपमा यातायात सेवा सञ्चालन गर्न गाउँपालिकाको वडा नम्बर ६ र ५ जोड्न खानीखोलामा पुल निर्माण सुरु भएको छ। खानीखोलामा निर्माण हुने ३५ मिटर लम्बाइको पुल पाँच करोड ८२ लाख ९७ हजार ५६५ रुपैयाँ लागतमा निर्माण हुनेछ।
पुल विसं २०८२ साल जेठ २५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी गत असोज २५ गते पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक र जयवागेश्वरी एएलइज वेल अल्फ हेक्स जेभीबिच सम्झौता भएको थियो ।
पुल तथा सडक शिलान्यास कार्यक्रममा मन्त्री दुलालले विगतका विकासमा पछाडि पारिएका खानीखोला र महाभारत जस्ता गाउँपालिकाको विकास गर्ने अभियानका साथ प्रदेश सरकारले विकासका कार्यक्रम अघि बढाएको बताए। उनले प्रदेश सरकारले प्रदेशको महत्त्वपूर्ण योजनाका रूपमा बिपी राजमार्गदेखि मदन भण्डारी राजमार्गसम्म जोड्ने ७१ किलोमिटर लामो जनमुक्ति मार्गका विभिन्न स्थानमा सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने काम भइरहेको जानकारी दिए ।
खानीखोलामा पुल बन्नेभएपछि यहाँका स्थानीयबासीमा खुसीयाली छाएको छ। भौगोलिक रूपमा विकट रहेको यो गाउँपालिकामा पुल निर्माण गरी सहज रूपमा यातायात सञ्चालन गर्ने उद्देश्य राखिएको छ।