काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकामा पुल तथा सडक स्तरोन्नतिको काम सुरु गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले बिहीबार महाभारत गाउँपालिकामा पुल तथा सडक स्तरोन्नति कार्यको शिलान्यास गरेका हुन्।
प्रदेशको बजेटमा महाभारत गाउँपालिकाको वडा नम्बर १ र ३ लाई सडकसँग जोड्न बनखु खोलामा पुल निर्माण सुरु भएको छ । बनखु खोलामा ५० मिटर लम्बाइको पुल सात करोड सात लाख ९९ हजार ९४६ रुपैयाँको लागतमा विसं २०८२ साल जेठ २५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी गत असोज २५ गते नै पूर्वाधार कार्यालय र जयवागेश्वरी एएलइज वेल अल्फ हेक्स जेभीबिच सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
बिहीबार नै मन्त्री दुलालले महाभारत गाउँपालिकाभित्र पर्ने जनमुक्ति मार्गको देवीटार–घर्तीछाप–गोकुले–छोटेसान–भोर्लेनी सडक अन्तर्गतको नौ किलोमिटर ३८० मिटर सडक स्तरोन्नति तथा कालोपत्रेको शिलान्यास समेत गरेका छन्। भ्याटसहित ३९ करोड ७४ लाख ५५ हजार १८ रुपियाँको लागतमा स्तरोन्नति हुने उक्त सडक विसं २०८१ साल चैत ३ गते सम्पन्न गर्ने गरी सन्तोषी–धर्म एस जेभीसँग गत असोज ४ गते सम्झौता भएको थियो ।
पुल तथा सडक शिलान्यास कार्यक्रममा मन्त्री दुलालले विगतका विकासमा पछाडि पारिएका खानीखोला र महाभारत जस्ता गाउँपालिकाको विकास गर्ने अभियानका साथ प्रदेश सरकारले विकासका कार्यक्रम अघि बढाएको बताए। उनले प्रदेश सरकारले प्रदेशको महत्त्वपूर्ण योजनाका रूपमा बिपी राजमार्गदेखि मदन भण्डारी राजमार्गसम्म जोड्ने ७१ किलोमिटर लामो जनमुक्ति मार्गका विभिन्न स्थानमा सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने काम भइरहेको जानकारी दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य रत्न ढकालले खानीखोला र महाभारत गाउँपालिकाका जोड्ने सडक तथा पुल निर्माण सम्पन्न भएसँगै दुई पालिकाका नागरिकले उत्पादन गरेका वस्तु बजारसम्म पुर्याउन र स्थानीयको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने बताए ।