दमौली। तनहुँमा निर्माण हुने १२६ मेगावाटको तल्लो सेती अर्धजलाशय जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढेको छ । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलाशय जलविद्युत आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुने यो आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।
आयोजनाका विभिन्न संरचनाका लागि आवश्यकपर्ने निजी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउने प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरिएको तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको छ। जग्गा प्राप्ति ऐन, २०३४ मा भएको व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रारम्भिक अधिकारी तोकिएपछि आयोजनाका लागि आवश्यकपर्ने जग्गा अधिग्रहण सुरु गरिनेछ।
आयोजना अन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।