चितवन। दुर्घटनाका घाइते उपचारका लागि भरतपुर अस्पतालले ‘ट्रमा इमरजेन्सी सेवा’ सुरुआत गरेको छ। अर्थोपेडिक सर्जनको नेतृत्वमा छ शय्याको सेवा सुरु गरिएको हो।
दुर्घटनाका घाइतेलाई छिटोछरितो उपचार सरकारी अस्पतालमा हुन नसकेको गुनासो आएपछि घाइतेका लागि प्राथमिकता दिएर उक्त सेवाको सुरुआत गरिएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. कृष्णप्रसाद पौडेलका अनुसार दैनिक भरतपुर अस्पतालमा ३० देखि ४० जना दुर्घटनाका घाइते आउने गर्दछन्। सामान्य घाइते सरकारीमा आए पनि जटिल समस्या भएका निजी मेडिकल कलेजमा जाने गरेका छन्।
घाइते मेडिकल कलेज जाने शव भरतपुर अस्पतालको शवगृह आउनेक्रम रोक्नका लागि छुट्टै ट्रमा इमरजेन्सी सञ्चालनमा ल्याएको उनले बताए। सिटिस्क्यान मेसिन अस्पतालमा छ भने एमआरआइ माग गरिएको छ। सरकारले भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन हुन सकेको छैन। वार्षिक करिब एक करोड ५० लाख बजेट आउने गरेको छ। उक्त रकमलाई सर्जिकल सामग्री खरिदमा अस्पतालले खर्च गर्ने गरेको पौडेलले बताए।
अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालले निर्माण सुरु गरेको ५० शय्याको आकास्मिक भवनको माथिल्लो तल्लामा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माण गर्ने तयारी गरेको जानकारी दिए। उनका अनुसार स्वास्थ्य मन्त्रालयले आकस्मिक भवनका लागि रु नौ करोड विनियोजन गरेको छ। अपुग रकम अस्पतालले थप गरेर माथिल्लो दुई तलामा सुविधा सम्पन्न ट्रमा सेन्टर बनाउन लागिएको उनले जानकारी दिए।
भरतपुर अस्पताल सङ्घीय अस्पताल हो। यस अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।
उनका अनुसार सङ्घीय अस्पतालमा हुनुपर्ने सबै सेवा प्रवाहका लागि अस्पतालमा काम भइरहेको छ। यसअघि पटकपटक प्रमुख फेरिएका कारण समस्या आएको थियो। अस्पतालले आकस्मिक सेवामा भएका १२ शय्यालाई बढाएर २० शय्या पुर्याएको छ।