इलाम। इलामका स्थानीयले ७.८ मेगावाटको सुपर माई जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द गरिदिएका छन्। स्थानीयले जलिवद्युत केन्द्रले खोलामा छोड्नु पर्ने जति पानी नछोडेको तथा आफ्ना माग पूरा नगरेको भन्दै सोमबार साँझदेखि विद्युत उत्पादन बन्द गरिदिएका हुन्।
इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माई खोलामा निर्माण भइ सञ्चालनमा रहेको जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द गरी खोलाको पानी खोलामा छोडेको स्थानीयले बताए।
सबै पानी खोलातर्फ लगाइदिएपछि उत्पादन पूर्ण रूपमा बन्द भएको छ। उत्पादन बन्द भएपछि प्रवर्द्धक कम्पनीले विद्युत बिक्रीबाट हुने दैनिक ५ लाख रुपैयाँ आम्दानी गुमाइरहेको छ।
जलविद्युत केन्द्रको प्रवर्द्धकले माईजोगमाई–५ सोताङमा ३० घण्टा सडक मर्मतका लागि स्काभेटर उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि काम नगरेको स्थानीयको गुनासो छ।
सुरुमा स्थानीयवासीले माग गरेको ३० घण्टा सडक मर्मतका लागि स्काभेटर दिने भनिएको र वडाबाट सिफारिस लिएर आउन आग्रह भएको थियो । माईजोगमाई गाउँपालिका–५ वडा कार्यालयको सिफारिससहित जाँदासमेत स्काभेटर उपलब्ध नगराएपछि उत्पादन बन्द गराउनु परेको बताइएको छ। माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्थानीयको भनाइ छ।