काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो एक वर्षमा जलविद्युतको क्षेत्रमा ८० वर्ष बराबरको काम भएको बताएका छन्। मंगलबार एक वर्षे कार्यकाल पूरा गरेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलविद्युत क्षेत्रमा एक वर्षको अवधिमै ठूलो फड्को मारेको दाबी गरेका हुन्।
उनले ४०० मेगावाटसम्म बिजुली निकासी गरेर १५ अर्ब २७ करोड विदेशी मुद्रा आर्जन गरेको बताए। प्रधानमन्त्री प्रचण्डले भने, म दोस्रो पटक प्रधानमन्त्री हुँदा मुलुकमा १८ घण्टाको सम्मको लोडसेडिङ नियति मानिएको थियो। ठूलो जनसंख्या पहुँच बाहिर थियो। अहिले सिंगो मुलुकमा उज्यालो छ। १९६८ मा ५०० किलोवाटबाट सुरु फर्पिङबाट जलविद्युत उत्पादन सुरु भएको हो। १०४ वर्षमा जम्मा ८०० मेगावाट उत्पादन पुगेको थियो। विगत सात वर्षमा २८९२ मेगावाट पुगेको छ। जसमध्ये यही वर्ष ५४१ मेगावाट थपिएको छ। विगतको एक वर्ष करिब ८० वर्ष बराबर हो।’
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यातका लागि दीर्घकालीन विद्युत व्यापारको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको बताए। उनले यो नेपालको समृद्धिका लागि इतिहासकै ठूलो र दुरगामी महत्वको सम्झौता भएको बताए। उनका अनुसार भारतसँग मात्रै नभई बंगलादेशमा ४० मेगावाट निर्यातका लागि त्रिदेशीय सम्झौता हुन लागेको छ।
उनले चीन भ्रमणमा चिलिमे केरुङ २२० केभी प्रसारणलाइन निर्माण अघि बढाउने सम्झौता गरेको बताए। उनले सरकारले गेम चेन्जर ठूला आयोजना बनाउन लागेको समेत जानकारी दिए। भारत बंगलादेश र चीन विद्युत विकासका साझेदार भएकाले ठूला परियोजनाहरु अघि बढाउन लागिएको उनको भनाई छ।